विराटनगर, भदौ ८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ५७ र विपक्षमा २२ मत परेको हो।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसदले मतदान गरेका छन्। प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन्। यी दुवै दलका सांसदको समर्थनबाट कार्कीले ५७ मत प्राप्त गरेका हुन्।

नेपाली कांग्रेसका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद मतदानमा तटस्थ बसेका छन् भने जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु बैठकमा अनुपस्थित रहनुभएको थियो।

ADVERTISEMENT

कोशी प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। एक सदस्यले राजीनामा दिएपछि सदस्य संख्या ९२ मा झरेको हो। सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित भएका थिए।

ADVERTISEMENT

मुख्यमन्त्री कार्कीले राजनीतिक समीकरणमा आएको परिवर्तनपछि विश्वासको मत लिनुभएको हो। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार प्रदेश सरकारमा सत्ता सहकार्य अघि बढेपछि कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत माग्नुभएको थियो।

ADVERTISEMENT

विश्वासको मत प्राप्त भएसँगै कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ। कार्कीले यसअघि पनि दुई पटक प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुभएको थियो। यो उहाँको तेस्रो विश्वासको मत हो।