हेटौँडा, भदौ ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

मुख्यमन्त्रीको नियुक्तिविरुद्ध राप्रपा सांसद कुमारी तामाङले रिट दायर गर्दै अन्तरिम आदेशको माग गर्नुभएको थियो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भने अदालतले तत्काल निर्णय गरेको छैन। यस विषयमा दुवै पक्षलाई उपस्थित गराएर भदौ १० गते छलफल गर्ने आदेश भएको छ।

ADVERTISEMENT

अदालतको आदेशमा दुवै पक्षलाई थप प्रमाण तथा कागजात भए लिएर छलफलमा उपस्थित हुनसमेत भनिएको छ। अन्तरिम आदेशसम्बन्धी निर्णयका लागि दुवै पक्षको भनाइ सुन्न आवश्यक देखिएको अदालतले जनाएको छ।

ADVERTISEMENT

यसैबीच मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्रीको समर्थन र सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपाभित्र भने विवाद देखिएको छ।

ADVERTISEMENT

राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र प्रदेशसभा उपसभामुखसमक्ष पठाइसकेको छ। हाल बागमती प्रदेश सरकारमा राप्रपाका तीन जना मन्त्री सहभागी छन्।

मुख्यमन्त्रीको विश्वासको मतका विषयमा राप्रपाले आफ्ना सांसदलाई फरक–फरक निर्देशन दिएको छ। पार्टी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन तथा तटस्थ बस्न वा बैठकमा अनुपस्थित रहन निर्देशन दिएको छ। तर सरकारमा सहभागी मन्त्रीसहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्।