काठमाडौं, भदौ ८ गते । मंगलबारदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शो २०२६ मा नयाँ तथा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको चासो बढेको छ। प्रदर्शनीमा आधा दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक हुने तयारी भइरहँदा टाटा सिएरा ईभी र नेभो क्यू–०५ विशेष चर्चामा छन्।

चांगान समूहअन्तर्गतको नेभो क्यू–०५ नेपालमा दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले म्याक्सको मूल्य ४६ लाख ९९ हजार र अल्ट्राको ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यी मूल्य अटो शो अवधिका लागि मात्र लागू हुनेछन्। त्यसपछि क्रमशः ४८ लाख ९९ हजार र ५१ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

क्यू–०५ मा ५१.९ किलोवाट घण्टाको एलएफपी ब्याट्री र १२० किलोवाटको विद्युतीय मोटर छ। यसले १६३ अश्वशक्ति र १९० न्युटन मिटर टर्क उत्पादन गर्छ। १४.६ इन्चको मुख्य डिस्प्ले, १०.१७ इन्चको डिजिटल डिस्प्ले, ५४० डिग्री क्यामेरा, ओटीए अपडेट, वायरलेस चार्जिङ र लेभल–२ एडीएएसलगायत सुविधा छन्।

ADVERTISEMENT

यता, सिप्रदी ट्रेडिङले नेपाल ल्याएको टाटा सिएरा ईभी पनि अटो शोको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। यसको मूल्य, भेरियन्ट र नेपालमा उपलब्ध हुने ब्याट्री क्षमतासहितका आधिकारिक विवरण अटो शोमै सार्वजनिक गर्ने तयारी छ।

ADVERTISEMENT

भारतीय बजारमा सिएरा ईभी ६३ र ७५ किलोवाट घण्टाको ब्याट्री विकल्पमा उपलब्ध छ। यसमा १७५ किलोवाटसम्मको रियर–ह्वील ड्राइभ तथा २२५ किलोवाटको अल–ह्वील ड्राइभ मोटर विकल्प छन्।

ADVERTISEMENT

यी दुई विद्युतीय एसयूभीले फरक मूल्य र श्रेणीमा प्रतिस्पर्धा गर्नेछन्। विशेषगरी सिएरा ईभीको मूल्य र ब्याट्री क्षमताले नेपाली बजारमा यसको प्रतिस्पर्धात्मक स्थिति निर्धारण गर्ने अपेक्षा गरिएको छ।