मकवानपुर, भदौ ८ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको हो। ह्विपमा प्रदेश सभा सदस्यलाई प्रस्तावको पक्षमा मतदान नगर्न तथा तटस्थ वा अनुपस्थित नरहन स्पष्ट निर्देशन दिइएको छ।

राप्रपाका प्रदेश सभा सदस्य तथा पूर्वप्रदेश सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी केन्द्र र प्रमुख सचेतकबाट ह्विप जारी भएको जानकारी दिनुभयो।

ADVERTISEMENT

राप्रपामा प्रदेश संसदीय दल र पार्टी केन्द्रबीचको विवादका कारण ह्विप जारी भएको हो। केन्द्रको निर्णयविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेपछि पार्टीभित्र विवाद चुलिएको थियो।

ADVERTISEMENT

हाल थापा नेतृत्वको सरकारमा राप्रपाका तीन प्रदेश सभा सदस्य गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्रीका रूपमा सहभागी छन्। उनीहरूसहित संसदीय दलका नेतामाथि राप्रपा केन्द्रीय अनुशासन समितिले कारबाही तथा स्पष्टीकरणको प्रक्रिया अघि बढाएको छ।

ADVERTISEMENT

संविधानको धारा १८८ (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची छ। बागमती प्रदेश सभामा राप्रपाका १२ सांसद छन्।