काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेश सभा बैठक दिउँसो १ बजे बस्नेछ, जहाँ मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

एमालेका प्रदेश सभा सदस्य थापा मगर एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर मुख्यमन्त्रीलाई समर्थन गर्ने पत्र दिएका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पार्टीले कारबाही गर्दै निष्कासन गरिसकेको छ। पार्टी केन्द्रको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको आरोप उनीमाथि लगाइएको छ।

बागमती प्रदेश सरकारमा राप्रपाका तीन सांसद मन्त्रीका रूपमा सहभागी छन्। प्रदेश सभामा राप्रपाका १२ सांसद रहेका छन्। सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग पनि राप्रपाले स्पष्टीकरण मागिसकेको छ। पार्टीले सुरुमा १२ घण्टाको समय दिएर स्पष्टीकरण मागेकोमा पुनः थप १२ घण्टाको समय दिएको थियो।

ADVERTISEMENT

मुख्यमन्त्रीले विश्वासको मत लिन लागेकै दिन राप्रपाले आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। राप्रपाले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा बैठकमा अनुपस्थित रहन निर्देशन दिएको जनाएको छ।

ADVERTISEMENT

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बागमती प्रदेश सभाकी प्रमुख सचेतक कुमारी तामाङमार्फत पार्टीका सबै प्रदेश सभा सदस्यलाई ह्विप पठाइएको छ।

ADVERTISEMENT

राप्रपाका तीन सांसद सरकारमा मन्त्री रहेकाले उनीहरूबाट पार्टीको निर्देशनविपरीत मतदान हुन सक्ने सम्भावनासमेत देखिएको छ। पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको पक्षमा मतदान गरे उनीहरूमाथि समेत कारबाही हुन सक्ने सम्भावना छ।

बागमती प्रदेश सभामा एमाले र नेकपालाई बहुमत पुर्‍याउन थप दुई सांसदको समर्थन आवश्यक पर्ने अवस्थामा राप्रपाका प्रदेश सभा सदस्यहरूको समर्थनमा सरकार गठन गरिएको थियो। तर अहिले राप्रपा केन्द्रले सरकारलाई विश्वासको मत नदिन निर्देशन दिएपछि मुख्यमन्त्री थापा मगरका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण बनेको छ।