जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुनको हत्या आरोपमा १९ वर्षीया मुस्कान खातुन पक्राउ परेकी हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको हत्यामा सौतेनी आमाको संलग्नता देखिएको प्रहरीको भनाइ छ।

खुशी आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि घर पछाडिको झाडीमा उनको शव फेला परेको थियो। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार बालिकाको शवमा बाहिरी चोटपटक देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा घटनामा एक जनाको मात्रै संलग्नता देखिएको उनले बताए।

ADVERTISEMENT

मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। स्थानीयका अनुसार इरफानकी जेठी र कान्छी पत्नीबीच लामो समयदेखि पारिवारिक तथा सम्पत्तिसम्बन्धी विवाद हुँदै आएको थियो।

ADVERTISEMENT

बालिकाको हत्याको विरोधमा स्थानीयले आइतबार रुपनी बजार केही समय बन्द गराउँदै दोषीलाई कडा कारबाहीको माग गरेका थिए। प्रदर्शनका क्रममा बजार तथा राजमार्गमा भएको अवरोध भने हटिसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।