इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमै फर्काइएको छ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक खानको विस्तृत स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा जाँच गराउन अदालतले संघीय सरकारलाई निर्देशन दिएको थियो। सोही आदेशअनुसार उनलाई कडा सुरक्षा व्यवस्थाबीच अस्पताल लगिएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार खानको अस्पताल आवागमनका क्रममा आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। अस्पताल आसपास उच्च सुरक्षा घेरा बनाइनुका साथै केही सडकसमेत बन्द गरिएको थियो।

ADVERTISEMENT

तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहेका खानमा रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो। आवश्यक जाँच तथा प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उनलाई शुक्रबार बिहान पुनः अदियाला जेल लगिएको अधिकारीहरूले बताएका छन्। खान सन् २०२३ देखि जेलमा रहँदै आएका छन्।

ADVERTISEMENT

ADVERTISEMENT