काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू वनस्थलीस्थित ‘घण्टी घर’ पुगेका छन्।
केन्द्रीय कार्यालयमा केहीबेरमा सुरु हुने बैठकमा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी हुने क्रम जारी छ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने कार्यसूची छ।
बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने बताइएको छ।
त्यस्तै, केन्द्रीय समिति, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठनसम्बन्धी विषयमा पनि छलफल हुने कार्यसूची छ।
स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।






