पर्वत । पर्वत र बागलुङ जोड्ने कालीगण्डकी नदीमाथिको मालढुङ्गा मोटरेबल पुल बाढीजन्य कटानका कारण जोखिममा परेको छ। पुलको पर्वततर्फको एप्रोच र पिल्लर नजिकको जमिन बगेपछि तत्काल थप क्षति रोक्न त्रिपाल टाँगेर अस्थायी संरक्षण गरिएको छ।
गत साता लगातार परेको वर्षापछि कालीगण्डकीको बहाव बढ्दा पुलको आधार क्षेत्रमा कटान भएको हो। कटान बढ्दै गएपछि थप माटो बग्न नदिन ढल्किएको भाग त्रिपालले छोपिएको छ।
सडक डिभिजन कार्यालयका प्राविधिकले प्रारम्भिक निरीक्षण गरिसकेका छन्। नदीको बहाव उच्च रहेकाले तत्काल स्थायी मर्मत गर्न सम्भव नभएको र पानीको सतह घटेपछि विस्तृत प्राविधिक मूल्याङ्कन गरी संरक्षण तथा मर्मतको काम अघि बढाइने जनाइएको छ।
स्थानीयवासीले बाढीका कारण नदी किनारमा रहेका बस्तीसमेत जोखिममा परेको बताएका छन्। कुस्मा नगरपालिका–१ का अध्यक्ष खगराज पौडेलले त्रिपाल टाँग्नु तत्कालीन उपाय मात्रै भएकाले कटान नियन्त्रणका लागि ग्याबिन, तटबन्ध र पुलका पिल्लर संरक्षणको स्थायी योजना तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ।
पुलमा थप क्षति पुगे पर्वत–बागलुङबीचको आवागमनसँगै कालीगण्डकी करिडोरको यातायातसमेत प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ।





