काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवार राज्यका निकायले गर्ने जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले आफ्नो परिवारविरुद्ध समय–समयमा अफवाह फैलाउने गरिएको भन्दै त्यसको उद्देश्यबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
उनले संविधान र कानुनबमोजिम हुने छानबिनमा आफूहरूले पूर्ण सहयोग गर्ने बताउँदै गलत गरेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उल्लेख गरेकी छन्। तर, बिना आधार र गल्तीबिनै लगाइने आरोप भने स्वीकार्य नहुने उनको भनाइ छ।
दाहालले आफूहरूले अहिलेसम्म कुनै आर्थिक अनियमितता वा पदको दुरुपयोग नगरेको दाबी गर्दै आफ्नो सम्पत्ति विवरणसमेत सरकारसमक्ष बुझाइसकेको बताएकी छन्।
उनले व्यक्तिगत जीवनसमेत नभनी बुवालाई छोरीको नाताले सहयोग गर्नु अपराध नभएको भन्दै आफूहरूमाथि लाग्ने आरोपको प्रमाणसहित छानबिन गर्न चुनौतीसमेत दिएकी छन्।






