काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले न्यायका लागि दुई महिना प्रयास गर्दा पनि सरकारले आफ्नो आवाज नसुनेको गुनासो गरेका छन्। राज्यबाट समस्या समाधानको पहल नभएपछि आफू फेरि अमेरिका फर्किएको उनले बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नै देशमा दुःख–सुख साट्दै फेरि कलाकारितामा फर्किने सपना बोकेर छोरीसहित नेपाल आएको तर दुई महिनाको निरन्तर प्रयासपछि पनि न्याय नपाएको बताएका हुन्।
कट्टेलले राज्यका विभिन्न निकायमा पुगेर न्यायको लागि गुहारे पनि आफ्नो आवाज सुनुवाइ नभएको गुनासो गरेका छन्। उनका अनुसार समस्या समाधान हुनुको साटो भरतपुर महानगरपालिकाबाट १५ करोड रुपैयाँ विनियोजित बजेटसमेत फ्रिज हुने अवस्था आएको छ।
उनले आफूले १८ करोड ४३ लाख रुपैयाँको आर्थिक भार, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमिबाट फेरि फर्किन बाध्य भएको बताएका छन्।
‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्।
देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने गरेको भन्दै कट्टेलले राज्यबाट पाएको व्यवहारप्रति दुःख व्यक्त गरेका छन्। समाज र राष्ट्रका लागि १० वर्ष आफ्नो उर्वर समय समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन यही भएको उनको गुनासो छ।
कट्टेलले राज्यको व्यवहारबाट मन निकै भारी भए पनि आशा भने अझै नहराएको बताएका छन्। कुनै दिन राज्यले आफूहरूको पीडा बुझ्ने र समयले सत्य बोल्ने विश्वास व्यक्त गर्दै उनले न्यायको दिनको प्रतीक्षामा रहने बताएका छन्।






