काठमाडौं । सरकारले काठमाडौंमा अब २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरेको छ । उद्योग मन्त्रालयमा आज भएको छलफलमा काठमाडौं जिल्ला प्रमुख ईश्वरराज पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार काठमाडौंका विभिन्न स्थान छनोट गरी निश्चित बिक्री केन्द्रबाट चौबीसै घण्टा ग्यास उपलब्ध गराउने तयारी भइरहेको छ । उपभोक्तालाई आवश्यक परेको समयमा सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।
पौडेलले काठमाडौंका विभिन्न ठाउँमा ३० देखि ५० वटा बिक्री केन्द्र तोकेर ग्यास बिक्री गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘काठमाडौंका विभिन्न ठाउँ हेरेर ३०/४० वा ५० ठाउँमा ग्यास बिक्रीका लागि तयारी भइरहेको छ ।’
सरकारले कुन–कुन स्थानमा बिक्री केन्द्र राख्ने र सञ्चालनको समय तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा थप तयारी गरिरहेको जनाएको छ । नयाँ व्यवस्था लागू भएपछि राति वा जुनसुकै समयमा ग्यास आवश्यक पर्ने उपभोक्ताले समेत तोकिएका केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन् ।





