काठमाडौं । नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य सडक तथा राजमार्ग प्रभावित भएको जनाएको छ ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै कान्ति लोकपथ, अरनिको राजमार्ग र त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि अवरुद्ध वा आंशिक प्रभावित छन् ।
गण्डकी प्रदेशका बाग्लुङ र लमजुङका केही सडकखण्ड पहिरोका कारण प्रभावित भए पनि एकतर्फी रूपमा सञ्चालनमा छन् ।
लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित मध्यपहाडी लोकमार्ग र कर्णाली प्रदेशको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरो तथा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार अवरुद्ध सडकमा पहिरो पन्छाउने तथा सडक खुलाउने काम भइरहेको छ । यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।













