काठमाडौं । निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।

अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजित महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रिम’ मात्र छनोट भएको थियो । विश्वभरबाट सहभागी फिल्ममध्ये उत्कृष्ट डकुमेन्ट्रीका रूपमा ‘द एभरेस्ट ड्रिम’लाई अवार्ड प्रदान गरिएको फेस्टिभलले जनाएको छ ।

ADVERTISEMENT

ब्रेन इन्जुरीबाट बाँचेका पाँच बेलायती नागरिक र उनीहरूका परिवारसहित सात जनाले सगरमाथा आधार शिविरसम्म गरेको असाधारण यात्रामा फिल्म आधारित छ । गम्भीर मस्तिष्क चोटपछि पनि जीवनमा नयाँ सपना देख्दै त्यसलाई पूरा गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिएको छ ।

ADVERTISEMENT

निर्देशक पाण्डेले यस डकुमेन्ट्रीलाई करिब डेढ वर्ष लगाएर तयार गरेका हुन् । यो अवार्डसँगै एउटै महोत्सवमा पाण्डेका तीन फरक डकुमेन्ट्रीले बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेका छन् । यसअघि ‘भाग्यले बाँचेकाहरू’ले सन् २०१७ र ‘को–हजबेण्ड’ले सन् २०२२ मा यही अवार्ड जितेका थिए ।

‘द एभरेस्ट ड्रिम’मा शारदा गैरे, सुरेश श्रेष्ठ, निरज पन्थी, ईश्वर कोइराला, जुगल डंगोल, सन्दीप सरदार र कौशल घिमिरेलगायतको योगदान रहेको छ । फिल्मले नेपालमा प्रिमियरपछि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाउने तयारी गरिरहेको निर्देशक पाण्डेले बताएका छन् ।