काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय भेलाको स्थान टुंगो लागेको छ ।

साउन २९ देखि ३१ गतेसम्म चल्ने भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने भएको हो । नेता, कार्यकर्ता उपस्थित हुने संख्याका आधारमा मिराकललाई रोजिएको बताइन्छ ।
भेलालाई कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्नेछन् । देउवालाई प्रमुख अतिथिको निम्तो दिइएको छ । उनी बिहीबार स्वदेश फर्कदैछन् ।

भेलाका संयोजक डा. शशांक कोइरालाले भने उपस्थित हुन सबै नेता कार्यकर्तालाई आग्रह र पत्राचार गरिरहेका छन् । भेलामा डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन् ।

ADVERTISEMENT

भेलाको तयारीको विषयमा कांग्रेस पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच बुधबार बिहान गोल्फुटारमा छलफल भएको थियो । राष्ट्रिय भेलामा पेस हुने राजनीतिक प्रतिवेदन छाप्नका लागि आजै प्रेसमा पठाइएको बुझिएको छ । राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने सम्भावना प्रबल छ ।

ADVERTISEMENT