धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्।

बजेटका विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले गत ३१ असारमा नेकपा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। त्यसै दिन एमालेले शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।

एमालेले समर्थन फिर्ता लिएको २९औँ दिनमा शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका हुन्। कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा प्रदेश सरकारको आगामी अवस्थाबारे निर्णय हुनेछ। उनका अनुसार मुख्यमन्त्री शाहले राजीनामा दिनेछन्।

ADVERTISEMENT

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई सोझै राजीनामा बुझाउने वा प्रदेशसभामा सम्बोधन गरेर राजीनामा घोषणा गरी प्रदेश प्रमुखसमक्ष पत्र बुझाउने भन्ने विषयमा भने बैठकमा परामर्श हुने बताइएको छ।

ADVERTISEMENT

एमालेले समर्थन फिर्ता लिएपछि सरकार स्पष्ट रूपमा अल्पमतमा परेको र केन्द्रमा नेकपा र एमालेबीच सत्ता सहकार्यको सहमति बनेपछि सरकार जोगाउने प्रयास सम्भव नभएको कांग्रेस नेताहरूको भनाइ छ।

शाह यसअघि पनि राजनीतिक समीकरण परिवर्तन भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी एमालेको समर्थनमा २० साउन २०८१ मा दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैत २०८० मा समीकरण परिवर्तन भएपछि राजीनामा दिएका थिए।

खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने तयारी

केन्द्रमा नेकपा र एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टलाई अघि सार्ने तयारी गरिएको छ।

शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। त्यसपछि एमालेको समर्थनमा भट्टलाई मुख्यमन्त्री बनाउने तयारी रहेको नेताहरूले बताएका छन्।

मुख्यमन्त्रीको उम्मेदवारका विषयमा नेकपाभित्र लामो समयदेखि मतभिन्नता रहे पनि अब खगराज भट्टलाई नै अघि सार्ने सहमति भएको एक नेकपा सांसदले बताएका छन्। उनका अनुसार मुख्यमन्त्रीको विषय टुंगिए पनि मन्त्री चयनमा भने अझै छलफल आवश्यक छ।

नयाँ सरकारमा नेकपा र एमाले दुवैबाट मन्त्री पठाउने तयारी छ। तर मन्त्री चयनको विषयमा दुवै दलभित्र आन्तरिक छलफल जारी रहेको बताइएको छ।

विशेषगरी तत्कालीन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबाट आएका सांसदलाई समेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेकपाभित्र मन्त्री चयन थप पेचिलो बन्ने देखिएको छ।

यससँगै मुख्यमन्त्री शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।