काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास (पूर्ण) सूर्यग्रहण लाग्दैछ।
यो सूर्यग्रहणको पूर्ण दृश्य ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, उत्तर आन्ध्र महासागर तथा स्पेनका केही भूभागबाट देखिनेछ। नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने ग्रहण देखिने छैन।
नासाका अनुसार सन् १९९९ पछि मुख्य भूमि युरोपबाट देखिन लागेको यो पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण ग्रहणको छायाको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान गरिएको छ। उत्तरी गोलार्धका अन्य विभिन्न स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य हेर्न सक्नेछन्।
ग्रहणको छाया उत्तरी रुसबाट सुरु हुँदै ग्रिनल्यान्ड र आइसल्यान्ड हुँदै उत्तर आन्ध्र महासागर पार गरेर युरोपतर्फ अघि बढ्नेछ। यसको पूर्णताको मार्ग स्पेनसम्म पुग्नेछ। पूर्ण ग्रहणका क्रममा चन्द्रमाले सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाक्नेछ र केही समयका लागि सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ देखिनेछ।
अधिकांश स्थानमा पूर्ण ग्रहणको अवधि दुई मिनेटभन्दा कम रहने नासाले जनाएको छ। स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियालगायतका सहर पूर्ण ग्रहणको मार्गमा पर्नेछन्। लियोनमा स्थानीय समयअनुसार साँझ ८ः२८ बजे पूर्ण ग्रहण सुरु हुने र करिब दुई मिनेट रहने बताइएको छ। आइसल्यान्डको राजधानी रेक्जाभिकमा साँझ करिब ५ः४८ बजे पूर्ण ग्रहण सुरु हुनेछ।
सूर्यग्रहण पृथ्वीका सबै स्थानबाट देखिने घटना होइन। सूर्य, चन्द्रमा र पृथ्वी एक निश्चित ज्यामितीय अवस्थामा आउँदा चन्द्रमाको छाया पृथ्वीको सीमित भूभागमा मात्र पर्छ।
यसपटक चन्द्रमाको ‘उम्ब्रा’ अर्थात् पूर्ण छाया उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै जानेछ। उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर आन्ध्र महासागर हुँदै स्पेनसम्म फैलिने पूर्ण ग्रहणको मार्गमा नेपाल पर्दैन। त्यसैले नेपालका कुनै पनि स्थानबाट आजको खग्रास सूर्यग्रहण प्रत्यक्ष देखिने छैन। भारतबाट पनि यो ग्रहण देखिने छैन।
यसपटकको ग्रहण युरोपका लागि विशेष मानिएको छ। उत्तरी तथा पूर्वी स्पेनका विभिन्न सहर पूर्ण ग्रहणको मार्गमा पर्ने भएकाले ठूलो संख्यामा मानिस ग्रहण अवलोकनका लागि जुट्ने अपेक्षा गरिएको छ।
स्पेनका म्याड्रिड र बार्सिलोना पूर्ण ग्रहणको मुख्य मार्गमा नपरे पनि त्यहाँ सूर्यको ९९ प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाक्ने अनुमान छ। त्यस्तै, पेरिस, लन्डन र बर्लिनबाट क्रमशः करिब ९२, ९१ र ८५ प्रतिशत सूर्य ढाकिएको देखिनेछ।
उत्तर अमेरिकाका केही भागबाट पनि आंशिक ग्रहण देखिनेछ। क्यानडाको सेन्ट जोन्समा सूर्यको करिब ५३ प्रतिशत, मोन्ट्रियलमा १८ प्रतिशत र टोरोन्टोमा करिब ८ प्रतिशत भाग ढाकिने अनुमान गरिएको छ। अमेरिकाको अलास्काका केही क्षेत्रमा भने करिब ३७ प्रतिशतसम्म सूर्य ढाकिन सक्छ।
चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाश छेक्दा सूर्यग्रहण हुन्छ। सूर्यग्रहण मुख्यतः आंशिक, पूर्ण (खग्रास), वलयाकार र हाइब्रिड गरी चार प्रकारका हुन्छन्।
पूर्ण सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाक्दा केही समयका लागि दिनको उज्यालो कम भएर साँझजस्तो वातावरण देखिन सक्छ। यही समयमा सूर्यको बाहिरी वायुमण्डल ‘कोरोना’ पनि देख्न सकिन्छ।
पूर्ण सूर्यग्रहण सम्भव हुनुको एउटा रोचक कारण सूर्य र चन्द्रमाको देखिने आकार हो। सूर्य चन्द्रमाभन्दा करिब ४०० गुणा ठूलो भए पनि पृथ्वीबाट करिब ४०० गुणा टाढा भएकाले आकाशमा दुवैको कोणीय आकार लगभग उस्तै देखिन्छ।
सूर्यग्रहणको आंशिक चरणमा नाङ्गो आँखाले सूर्यतर्फ हेर्नु आँखाका लागि जोखिमपूर्ण हुन्छ। त्यसैले प्रमाणित सौर्य अवलोकन चस्मा वा सुरक्षित सौर्य फिल्टर प्रयोग गर्न विज्ञहरूले सुझाएका छन्। साधारण सनग्लासले सूर्यको विकिरणबाट आँखालाई पर्याप्त सुरक्षा दिँदैन।
पूर्ण खग्रासको समयमा चन्द्रमाले सूर्यको उज्यालो सतह पूर्ण रूपमा ढाकेको छोटो अवधिमा मात्र विशेष सुरक्षाबिना सूर्य हेर्न सकिन्छ। पूर्णता सुरु हुनुअघि र समाप्त भएपछि भने पुनः सुरक्षित सौर्य फिल्टर प्रयोग गर्नुपर्छ।
नेपालबाट आजको ग्रहण प्रत्यक्ष देखिने छैन। तर नासा तथा अन्य विश्वसनीय खगोलीय संस्थाले गर्ने अनलाइन प्रत्यक्ष प्रसारणमार्फत नेपाली दर्शकले ग्रहणको पूर्ण चरण हेर्न सक्नेछन्।
आजको ग्रहणपछि अर्को उल्लेखनीय पूर्ण सूर्यग्रहण २ अगस्ट २०२७ मा हुनेछ। त्यसको पूर्णताको मार्ग दक्षिणी स्पेन, उत्तर अफ्रिका, साउदी अरब र यमनसम्म फैलिनेछ।






