काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन्। भण्डारी मेल र श्रेष्ठ फिमेलतर्फको शीर्ष विजेता घोषित भएका हुन्।

शीर्ष विजेताले नगद ५ लाख रुपैयाँ बराबरको पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर गरी तीन विधाको उपाधिसमेत हात पारे। श्रेष्ठले कमर्सियल मोडलको उपाधि जितिन्।

ADVERTISEMENT

दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित फाइनल समारोहमा मेलतर्फ अनुस्कृत न्यौपाने फस्ट रनरअप र सुशान्त प्रजापति सेकेन्ड रनरअप घोषित भए। फिमेलतर्फ प्रियङ्का ओली फस्ट रनरअप र खुसी बोहरा सेकेन्ड रनरअप बने।

ADVERTISEMENT

२६ फिमेल र १६ मेल गरी ४२ प्रतियोगी सहभागी फाइनलमा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो। मस्ट पपुलरतर्फ मनिष ओली र काया थापा, मस्ट स्टाइलिसमा सुशील थापामगर र काया थापा तथा बेस्ट पर्सनालिटीमा अनुष सक्सेना र उगेश्ना तिमल्सिना विजेता बने।

त्यस्तै, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइसमा सुशान्त प्रजापति र प्रियङ्का ओली तथा मस्ट फोटो जेनिकमा सुशान्त प्रजापति र कृशला संगत विजेता बने। सिम्रन कार्कीले बेस्ट फिजिक्स र बेस्ट फिगरको उपाधि हात पारिन्। अनुस्कृत न्यौपाने कमर्सियल मोडल र सृष्टि न्यौपाने बेस्ट कन्टेन्ट क्रिएटर घोषित भइन्।

प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाइ सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहेका थिए।

यो प्रतियोगिताको १०औँ सिजन हो। मुख्य प्रायोजक ‘नोथिङ स्मार्ट फोन’ रहेकाले यसपटक प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको थियो।

आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायत विषयमा ग्रुमिङ प्रशिक्षण लिएर फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सीपसहित देश तथा विदेशका प्लेटफर्ममा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि आयोजना हुँदै आएको आयोजकले जनाएको छ।

प्रतियोगिताका अध्यक्ष रवि धमलाले पछिल्लो समय मोडलिङप्रति युवायुवतीको आकर्षण बढ्दै गएको र प्रतियोगिताले मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि अवसर तथा प्लेटफर्म सिर्जना गरेको बताए।

प्रतियोगितामा कोरियोग्राफर सबिता कार्की र मोन्टर अजय गुरुङ रहेका थिए। फेसन डिजाइनरमा मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेट सहभागी थिए। कार्यक्रममा र्‍याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसमेत गरिएको थियो।