काठमाडौँ । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार ती घटनामा २०५ जनाको मृत्यु, ५ जना बेपत्ता र १ हजार ३२४ जना घाइते भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विपद् बुलेटिनअनुसार उक्त अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ८०१ घटनामा ५९ जनाको मृत्यु भएको छ भने ७४९ जना घाइते भएका छन्।

ADVERTISEMENT

त्यसैगरी, चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT

विपद्का विभिन्न घटनाबाट देशभर ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४८० घटनाबाट मात्रै १ हजार ३५८ परिवार प्रभावित भएका छन् भने आगलागीका घटनाबाट १ हजार १७० परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार वर्षायामसँगै पहिरो, बाढी, चट्याङ तथा अन्य प्राकृतिक विपद्को जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ।