काठमाडौं । कांग्रेस नेता अभिषेक गिरीले काठमाडौं जिल्ला अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी नबुझाएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
साउन १५ गते अदालतले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी रकम नबुझाएपछि उनी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन्।
मोरङ कारागारका कैदीबन्दीबाट असुली गरेको घटनामा यसअघि हाजिर जमानीमा छुटेका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनः पक्राउ गरी काठमाडौं ल्याएको थियो।
श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा सीआईबीले अनुसन्धान गरी गिरीविरुद्ध अभियोजन गरेको हो।
प्रहरी अनुसन्धानअनुसार पहुँचको आधारमा ठेक्का मिलाइदिने आश्वासन दिएर श्रेष्ठ कन्स्ट्रक्सनले पाएको ठेक्का आफ्नो कम्पनीमार्फत गर्ने भन्दै काम नगरेर कम्पनीलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ।
यसअघि पनि गिरी अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा करिब ९ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते रिहा भएका थिए।




