विराटनगर — काठमाडौं जिल्ला अदालतबाट पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई मोरङ प्रहरीले पुनः पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार गिरीलाई आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरी विराटनगर ल्याइएको हो। उनीविरुद्ध मोरङमा सोही कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुलेको आरोपमा किटानी जाहेरी दिएका थिए।

ADVERTISEMENT

यसअघि ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत असार २३ गते गिरीलाई विराटनगरबाट पक्राउ गरेको थियो। त्यसअघि उनी मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए।

ADVERTISEMENT

सीआईबीले गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै मुद्दा अघि बढाएको थियो। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटी बुझाएर छुटेलगत्तै उनलाई मोरङ प्रहरीले पुनः नियन्त्रणमा लिएको हो।