काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा र क्युकेएसका अध्यक्ष समेत रहेका कान्जिरोवाका प्रिन्सिपल रन्जित थापाले संयुक्त रुपमा उद्घाटन गरे । पहिलो दिन समूह चरणका १० खेल सम्पन्न भए ।
सिनियर ब्वाइजमा भक्तपुर निस्टले रोजबडलाई २–० तथा काष्ठमण्डप ‘ए’ ले रोजबडलाई २–१ गोलले पराजित गरे । सोही स्पर्धामा काष्ठमण्डप ‘ए’ र भक्तपुर निस्टले गोलरहित बराबरी खेले ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले त्रियोगलाई २–१ र भक्तपुर निस्टलाई ६–० तथा त्रियोगले भक्तपुर निस्टलाई १–० गोलले हराए । रोजबड र अक्षराबीच खेल १–१ को बराबरीमा टुंगियो ।
क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को कार्यक्रम अनुसार सञ्चालित प्रतियोगिताको सिनियर गल्र्समा त्रियोगले भक्तपुर निस्टलाई ४–० तथा काष्ठमण्डप ‘ए’ ले भक्तपुर निस्टलाई २–० गोलले पाखा लगाए ।
काष्ठमण्डप ‘ए’ र त्रियोगबीचको खेल गोलरहित बराबरीमा सकियो । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा १५, सिनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा १२ टिम सहभागी छन् । फाइनल साउन २९ गते हुनेछ ।




