राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै भएका घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबै पक्षलाई आग्रह गर्नुभएको छ।
सभापति लामिछानेले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ।
लामिछानेले रास्वपाका स्थानीय समिति र सदस्यहरूलाई सामाजिक सदभाव कायम गर्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। उहाँले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता र सहिष्णुता कमजोर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ।
उहाँले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवालालाई अपिल गर्नुभएको छ। शान्ति सुरक्षा कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग सहजीकरण भइरहेको उहाँले बताउनुभएको छ।
सभापति लामिछानेले घटनाको वास्तविक कारण पहिचान गर्न स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई न्याय र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ।





