काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर २ हजार ६९६ दशमलव ६७ विन्दुमा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ७० अङ्कले घटेर ४७० दशमलव ७९ विन्दुमा कायम भएको छ। त्यस्तै फ्लोट परिसूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ र सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव १८ अङ्कले घटेर १५९ दशमलव ७० विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार आज विभिन्न कम्पनीका १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर कारोबार हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूह घटेका छन्। आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष र गरिमा समृद्धि योजनाका लगानीकर्ताले लाभ लिएका छन्। यता कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले भने गुमाएका छन्।






