काठमाडौं । अफरोड ड्राइभिङ र एड्भेन्चर टुरिजमप्रतिको आकर्षण बढ्दै जाँदा अफरोड एसयूभीको बजार विस्तार हुने देखिएको छ। भारतमा आगामी केही वर्षभित्र महिन्द्रा, हुन्डाई र टोयोटाले नयाँ अफरोड क्षमतायुक्त एसयूभी सार्वजनिक गर्ने तयारी गरेसँगै नेपाली अटोमोबाइल बजारमा समेत यसको चासो बढेको हो।
नेपालको पहाडी भूगोल, चुनौतीपूर्ण सडक अवस्था र एड्भेन्चर यात्राको बढ्दो संस्कृतिका कारण उच्च ग्राउण्ड क्लियरेन्स, फोर ह्वील ड्राइभ प्रणाली र बलियो संरचना भएका एसयूभीको माग पछिल्ला वर्षमा बढ्दै गएको छ।
महिन्द्राले लोकप्रिय अफरोड एसयूभी थारको फेसलिफ्ट संस्करण ल्याउने तयारी गरेको छ। नयाँ थारमा नयाँ डिजाइन, एलईडी हेडलाइट, कीलेस इन्ट्री, वायरलेस चार्जर र भेन्टिलेटेड सिटजस्ता सुविधा थपिने अपेक्षा गरिएको छ। नेपाली बजारमा थारले राम्रो पहिचान बनाइसकेकाले यसको नयाँ संस्करण पनि आउने सम्भावना रहेको छ।
हुन्डाईले पनि भारतीय बजारका लागि नयाँ अफरोड एसयूभी विकास गरिरहेको छ। प्रारम्भिक जानकारीअनुसार उक्त मोडल पेट्रोल तथा पेट्रोल–इलेक्ट्रिक हाइब्रिड पावरट्रेनसहित आउने सम्भावना छ।
त्यस्तै, टोयोटाले फच्र्युनरभन्दा तलको सेग्मेन्टमा ल्यान्ड क्रुजर एफजे ल्याउने तयारी गरेको छ। बडी–अन–फ्रेम संरचना, फोर ह्वील ड्राइभ प्रणाली र बलियो अफरोड क्षमतासहित आउने यो मोडल पनि नेपाली बजारका लागि आकर्षक बन्न सक्ने अनुमान गरिएको छ।
क्याम्पिङ, ओभरल्याण्डिङ र एड्भेन्चर टुरिजमप्रति युवापुस्ताको बढ्दो आकर्षणका कारण भारतमा सार्वजनिक हुने यी नयाँ एसयूभीले नेपालमा समेत बजार विस्तार गर्ने सम्भावना देखिएको छ।





