काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि जारी मासिक योजनाअनुसार उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।

ADVERTISEMENT

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै यस उपलब्धिमा सहयोग पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति आभार व्यक्त गरे। 

ADVERTISEMENT

उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ प्रभावकारी सेवा र सुविधा प्रदान गर्न सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। साथै कम्पनीले आगामी दिनमा अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने दिशामा विशेष ध्यान दिने बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रमा प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि एमडीआरटी (MDRT) हासिल गर्न आवश्यक रणनीति, सीप र कार्यशैलीबारे विभिन्न उदाहरणसहित विशेष प्रशिक्षण प्रदान गरेका थिए।

ADVERTISEMENT

कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति तथा चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्ट मुख्य आकर्षण बनेको थियो। साथै चर्चित डिजे अमुको प्रस्तुतीमा सहभागी अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए।