काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको अन्तिम सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानै देखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन्।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार बताउँछन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

ADVERTISEMENT

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।