काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन दल मिलेर सरकार बनाउने पक्षमा आफू नरहेको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा उनले सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे ।

तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा प्रतिपक्षविहीन हुने र त्यो जनताको म्यान्डेटविपरीत हुने भन्दै उनले यस्तो प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गर्ने स्पष्ट पारे। कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गरे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको निष्कर्ष छ।

ADVERTISEMENT

‘सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको छ,’ थापाले भने।

सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको औँल्याए। अब कांग्रेस सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार हुनुपर्नेमा उनले जोड दिए।

ADVERTISEMENT

‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ। परिणाम जे भए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन,’ उनले भने, ‘विगतका गल्ती दोहोर्‍याउँदैनौँ। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ।’

‘चुनावअघि एक दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको छ। अब जनादेशको सम्मान गर्दै सिद्धान्त र लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्छ,’ उनले भने।
एमाले र नेकपाले कांग्रेससँग मिलेर प्रदेशमा सरकार बनाउन प्रस्ताव गरेपछि गगनले यसलाई आफ्नो पार्टीले अस्वीकार गर्ने बताएका छन् ।