काठमाडौं । सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा शनिबार नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एन्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।

नागढुङ्गा सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा आयोजना गरिएको हो।

ADVERTISEMENT

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङमार्गबारे नागरिकलाई आवश्यक जानकारी गराउने र यसको महत्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

ADVERTISEMENT

नागढुङ्गा–नौबिसे सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। प्रारम्भिक ठेक्का सम्झौताअनुसार २६ अप्रिल २०२३ मै सम्पन्न हुनुपर्ने आयोजना निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण निर्धारित समयमा पूरा हुन सकेको थिएन।

निर्देशक नेपालका अनुसार सुरुङमार्ग साउनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक दुई पाङ्ग्रे सवारीबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।

सुरुङमार्गमा भने दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने आयोजनाले जनाएको छ।