ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन्।
ललितपुर प्रहरीका अनुसार हेलिकप्टर परिचारिकाका रूपमा कार्यरत आफ्नी पत्नीलाई कुटपिट गरेको आरोपमा कसजुलाई पक्राउ गरिएको हो। उनलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कसजुविरुद्ध कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ। उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी गरिएको छ।
यसबीच, बुद्ध एयरले विगत १० दिनदेखि उडान ड्युटीमा अनुपस्थित रहेका कसजुको खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको जानकारी पाएको जनाएको छ। हाल उनी पाँच दिनदेखि हिरासतमा रहेको प्रहरीले जनाएको छ।





