काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) को आवेदन तथा नवीकरण प्रक्रिया अनलाइनमार्फत उपलब्ध गराउने भएको छ।
विभागका अनुसार नयाँ व्यवस्था २०८३ साल साउन १ गतेदेखि लागू हुनेछ। त्यसपछि सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी अटोफिल सुविधामार्फत सहज रूपमा आवेदन फारम भर्न सक्नेछन्।
अन्य सेवाग्राहीका हकमा भने हालकै प्रक्रिया यथावत् रहने जनाइएको छ। सेवा प्रवाहलाई थप सहज बनाउन राजस्व भुक्तानीको व्यवस्था पनि अनलाइनमार्फत नै मिलाइएको विभागले जनाएको छ।
विभागले सेवा लिने क्रममा कुनै समस्या, गुनासो वा सुझाव भए आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ। साथै, सातवटै प्रदेशका यातायात कार्यालयले तोकिएका इमेल ठेगाना र मोबाइल नम्बरमार्फत सेवाग्राहीका जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने व्यवस्था गरिएको छ।





