काठमाडौं । नेपालमा कुनै समय यस्तो पनि थियो जहाँ बैंकिङ सेवा लिन घण्टौं लाइन बस्नुपर्थ्यो। एउटा चेक साट्न, खाता खोल्न वा सामान्य विवरण अद्यावधिक गर्न पनि ग्राहक बैंकहरूको शाखामै पुग्नुपर्ने बाध्यता रहेको थियो। तर प्रविधिले यो सबै अवस्थामा सुधार ल्याएको छ। अब बैंकिङको परिभाषा भवन, काउन्टर र कर्मचारीमा मात्र सीमित छैन। ग्राहकको हातमा रहेको मोबाइल र एउटा क्लिकमा नै बैंकिङ क्षेत्रको सिंगो सेवा प्राप्त गर्न सकिनेछ।
सरकारले अघि सारेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ले पनि यही परिवर्तनलाई संस्थागत रूप दिन खोजेको छ। सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै सरकारी सेवा, राजस्व संकलन, वित्तीय कारोबार र सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने राष्ट्रिय लक्ष्यसँगै बैंकिङ क्षेत्र पनि तीव्र गतिमा डिजिटल बन्दै गएको छ। अहिले यही परिवर्तनको नेतृत्व गर्ने अग्रणी संस्थामध्ये एक बनेको छ नबिल बैंक। ४२ वर्षअघि नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा स्थापना भएको नबिलले अहिले ‘एनबैंक’ मार्फत बैंकिङलाई नयाँ उचाइमा पुर्याएको छ। बैंकको बुझाइमा आजको बैंकिङमा सबैभन्दा ठूलो सम्पत्ति पैसा मात्र होइन, ‘सुविधा’ हो। त्यसैले उसले ‘सुविधा नै नयाँ मुद्रा हो’ भन्ने अवधारणालाई व्यवहारमै उतार्ने प्रयास गरिरहेको छ।
नेपालको पहिलो डिजिटल बैंक
सन् २०२२ डिसेम्बर २२ मा सार्वजनिक गरिएको एनबैंक सामान्य मोबाइल बैंकिङ एप होइन। नबिल बैंकले यसलाई नेपालको पहिलो पूर्ण डिजिटल बैंकिङ प्लेटफर्म अर्थात् ‘नियो बैंक’को रूपमा विकास गरेको छ।
यसले ग्राहकलाई शाखामा नगई वर्षको तीन सय पैंसट्ठी दिन, चौबीसै घण्टा बैंकिङ सेवा प्रयोग गर्ने सुविधा दिएको छ। खाता खोल्ने, केवाईसी अद्यावधिक गर्ने, मुद्दती निक्षेप खोल्ने, कर्जाका लागि आवेदन दिने, बिल भुक्तानी गर्ने, रेमिट्यान्स प्राप्त गर्ने, लगानी गर्ने वा अन्तर्राष्ट्रिय भुक्तानी गर्ने सबै काम एउटै प्लेटफर्मबाट सम्भव भएको बैंकले जानकारी दिएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली भन्छन्, “एनबैंक सुरु गर्दा हाम्रो उद्देश्य ग्राहकलाई एउटै डिजिटल प्लेटफर्मबाट सरल, सहज र आधुनिक बैंकिङ अनुभव दिनु थियो। अब यसलाई बचत, कर्जा, भुक्तानी, रेमिट्यान्स, लगानी र किनमेललाई समेट्ने एआई–सञ्चालित सुपर एपका रूपमा विकास गर्दैछौं।”
डिजिटल नेपाल अभियानको वित्तीय आधार
डिजिटल अर्थतन्त्रको मेरुदण्ड डिजिटल भुक्तानी हो। सरकारी कार्यालयले कर, दस्तुर र सेवाशुल्क डिजिटल माध्यमबाट लिन थालेपछि बैंकिङ प्लेटफर्महरूको भूमिका अझ महत्वपूर्ण बनेको छ।
एनबैंकले क्यूआर भुक्तानी, मोबाइल टप–अप, युटिलिटी बिल भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका सेवालाई एउटै प्लेटफर्ममा समेटेको छ। विशेषगरी ‘ट्याप मी’ फिचरले प्रयोगकर्तालाई एपमा पूर्णरूपमा लगइन नगरी प्रारम्भिक प्रक्रिया पूरा गरी अन्तिम सुरक्षा प्रमाणीकरणपछि तुरुन्तै भुक्तानी गर्न सक्ने सुविधा दिएको छ।
नेपालमा डिजिटल कारोबारको अर्को महत्वपूर्ण पक्ष पारदर्शिता हो। प्रत्येक कारोबारको डिजिटल अभिलेख रहने भएकाले कर छली नियन्त्रण, औपचारिक अर्थतन्त्र विस्तार, सुशासन प्रवर्द्धन तथा नगद व्यवस्थापनमा हुने सरकारी खर्च घटाउन समेत यस्तो प्रणाली उपयोगी मानिन्छ।
बैंकिङबाट लगानीसम्म एउटै प्लेटफर्म
एनबैंकले बैंकिङ सेवालाई मात्र डिजिटल बनाएको छैन, लगानीको पहुँचलाई पनि मोबाइलमै ल्याएको छ। म्युचुअल फन्डको सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मा सहभागी हुन अब कार्यालय धाउनुपर्दैन। ग्राहकले एनबैंकमार्फत नै एसआईपी दर्ता, किस्ता भुक्तानी र आवश्यक विवरण व्यवस्थापन गर्न सक्छन्।
सेयर बजारमा सक्रिय लगानीकर्ताका लागि नबिल स्टक डिलर (ब्रोकर नम्बर ७७) सँगको सहकार्यमा टीएमएस खाता खोल्ने, डिम्याट खाता, मेरोसेयर नवीकरण शुल्क भुक्तानी जस्ता सुविधा पनि डिजिटल रूपमा उपलब्ध गराइएको बैंकको भनाइ छ।
विश्वका एक सय ८८ देशका नेपालीलाई एउटै प्लेटफर्म
नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक रेमिट्यान्स पनि एनबैंकको प्राथमिकतामा परेको छ। एन रेमिट सेवामार्फत विश्वका एक सय ८८ देशमा रहेका नेपालीले सुरक्षित रूपमा नेपाल पैसा पठाउन सक्ने व्यवस्था गरिएको छ। बैंकका अनुसार यसले हुण्डी जस्ता अनौपचारिक माध्यमलाई निरुत्साहित गर्दै औपचारिक बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन सहयोग पुर्याइरहेको छ।
नेपाल–भारतबीच क्रस–बोर्डर ट्रान्सफर, विदेश भ्रमणमा जाने नेपालीका लागि एक सय ९० देशमा चल्ने ग्लोबल ई–सिम, अन्तर्राष्ट्रिय अनलाइन किनमेलका लागि पाँच सय अमेरिकी डलरसम्मको भर्चुअल डलर कार्ड जस्ता सुविधाले एनबैंकलाई बहुआयामिक डिजिटल वित्तीय प्लेटफर्म बनाएको छ।
कर्जा पनि अब मोबाइलमै
डिजिटल बैंकिङको अर्को महत्वपूर्ण आयाम कर्जा सेवा हो। एनबैंकमार्फत मुद्दती निक्षेप धितोमा तत्काल ऋण लिन सकिने, डिजिटल कर्जा आवेदन दिन सकिने तथा क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने सुविधा उपलब्ध छ। ‘नबिल इन्स्टलमेन्ट’ सेवामार्फत ग्राहकले विभिन्न वस्तु तथा सेवाको किस्ताबन्दी भुक्तानी समेत गर्न सक्नेछन्। यसले बैंकिङलाई केवल बचत र भुक्तानीको माध्यम नभई सम्पूर्ण वित्तीय आवश्यकताको एकीकृत समाधानका रूपमा विकास गरिरहेको देखिन्छ।
४२ वर्षको यात्रा : विश्वासदेखि प्रविधिसम्म
नबिल बैंकले यस वर्ष आफ्नो ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा विगत चार दशकको यात्रालाई ‘विश्वास र नवप्रवर्तन’को यात्राका रूपमा चित्रण गरेको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी भन्छन्, “४२ वर्षदेखि नबिल बैंकको मुटुमा धड्किरहेको एउटै कुरा विश्वास हो। यही विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यही हाम्रो भविष्यको बलियो जग पनि हो।” उनका अनुसार नबिलले परिवर्तनको प्रतीक्षा कहिल्यै गरेन, बरु सधैं परिवर्तनको नेतृत्व गर्यो। नेपालको पहिलो निजी वाणिज्य बैंकदेखि डिजिटल बैंकिङसम्मको यात्रा त्यसैको प्रमाण भएको उनको भनाइ छ।
अबको यात्रा एआईको नेतृत्वमा
नबिलले आगामी चरणको बैंकिङलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउने रणनीति अघि सारेको छ। अध्यक्ष चौधरीका अनुसार एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, ग्राहक अनुभव र वित्तीय समावेशीकरणलाई पुनःपरिभाषित गरिरहेको छ। त्यसैले एनबैंकको आगामी विकास एआईमा आधारित हुनेछ। उनले भनेका छन्, “एआई केवल एउटा प्रविधि होइन, बैंकिङको नयाँ युग हो। यसले बैंकिङलाई अझ स्मार्ट, सुरक्षित र व्यक्तिगत बनाउनेछ। तर प्रविधि जतिसुकै उन्नत भए पनि हाम्रो मूल उद्देश्य मानवीय मूल्य र विश्वासलाई केन्द्रमा राख्नु हो।”
बैंकिङ एण्ड बियोन्ड
४२ वर्षको यात्रामा नबिल बैंकको वित्तीय आकार उल्लेखनीय रूपमा विस्तार भएको छ। दुई करोड ८० लाख रुपैयाँ नेटवर्थबाट सुरु भएको बैंक अहिले ७० अर्बभन्दा बढी नेटवर्थ भएको संस्थामा रूपान्तरण भएको छ। निक्षेप पाँच खर्ब ८८ अर्ब रुपैयाँ नाघेको छ भने कर्जा प्रवाह चार खर्ब ६४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। देशभर दुई सय ६४ वटा शाखा, तीन सय १५ वटा एटीएम र २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले कृषि, ऊर्जा, पर्यटन तथा साना–मझौला उद्यममा पनि उल्लेखनीय लगानी विस्तार गरेको छ।
यो वर्षको वार्षिकोत्सवमा बैंकले ४२ दिनसम्म विभिन्न ग्राहक–केन्द्रित योजना, सहुलियतपूर्ण घर कर्जा, लकर, कार्ड तथा डिजिटल पेमेन्ट सेवामा छुटका कार्यक्रम समेत ल्याएको छ।
अब सुविधा नै नयाँ मुद्रा
डिजिटल बैंकिङको भविष्य केवल कारोबारलाई मोबाइलमा सार्नु मात्र होइन, नागरिकको सम्पूर्ण वित्तीय जीवनलाई एउटै प्लेटफर्ममा जोड्नु हो। एनबैंकले यही अवधारणालाई केन्द्रमा राख्दै बैंकिङ, भुक्तानी, लगानी, रेमिट्यान्स, कर्जा र अन्तर्राष्ट्रिय सेवाहरूलाई एउटै इकोसिस्टममा जोड्ने प्रयास गरिरहेको छ।
सरकारको ‘डिजिटल नेपाल’ अभियान सफल बनाउन निजी क्षेत्रको यस्ता प्रविधिमैत्री पहलको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने देखिन्छ। बैंकिङ सेवा अब शाखाको काउन्टरमा मात्र सीमित छैन। यो नागरिकको हातमा रहेको मोबाइलभित्र बसिसकेको छ। र, यही परिवर्तनलाई नबिल बैंकले एउटा वाक्यमा परिभाषित गरेको छ, ‘अब सुविधा नै नयाँ मुद्रा हो।’





