काठमाडौं– केही दिनदेखि प्राविधिक समस्याका कारण अवरुद्ध भएको देशभरका यातायात व्यवस्था कार्यालयहरूको अनलाइन सेवा पुनः सञ्चालनमा आएको छ।
केन्द्रीय सर्भर र नेटवर्कमा आएको खराबीका कारण सवारी चालक अनुमतिपत्रको आवेदन, नवीकरण, स्मार्ट कार्ड प्रिन्ट, सवारी साधनको नामसारी, कर भुक्तानी तथा जाँचपासलगायतका सेवा पूर्ण रूपमा प्रभावित भएका थिए। प्रणाली अवरुद्ध भएपछि देशभरका यातायात कार्यालयको दैनिक प्रशासनिक कामसमेत प्रभावित बनेको थियो।
प्राविधिक टोलीले लगातारको प्रयासपछि सर्भरमा देखिएको समस्या समाधान गरेसँगै मंगलबार दिउँसो ३ बजेदेखि अधिकांश यातायात कार्यालयको प्रणाली पुनः सञ्चालनमा आएको हो।
यातायात व्यवस्था विभागका आईटी डाइरेक्टर केशव खतिवडाका अनुसार हाल देशभरका अधिकांश कार्यालयबाट सेवा सुचारु भइसकेको छ भने बाँकी केही कार्यालयमा पनि प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको छ।





