काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसदमा सरकारको कामकारबाहीको आलोचना गर्दा आफूलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले सरकारको निरपेक्ष विरोध नगरी गुण–दोषका आधारमा रचनात्मक रूपमा आवाज उठाउँदा पनि आफूलाई लगातार धम्की आइरहेको बताए।
उनले भने, “हामी निरपेक्ष रूपमा सरकारको विरोध गर्दैनौँ। गुण र दोषका आधारमा विरोध गर्छौँ, सरकारलाई बाटो देखाउँछौँ। तर सरकारको विरोध गरेको केही मानिसलाई मन नपर्दो रहेछ। मलाई निरन्तर ‘गोली हानिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की आइरहेको छ। आजै पनि धम्की आएको छ।”
महरले आफ्नो मोबाइलमा आएको सन्देश पढ्दै पराजुली राम र पूर्णविक्रम क्षेत्री नामबाट मंगलबार नै ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्। उनले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन र सुरक्षा व्यवस्थाको माग गरेका छन्।





