काठमाडौँ – राहदानी विभागअगाडि आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीको घटनामा उनका परिवार र सरकारबीच निरन्तर वार्ता भइरहेको छ। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान कायम राखेको छ।

मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि उत्पन्न परिस्थितिका कारण घटना भएको दाबी गर्दै परिवारले दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र सरकारबाट स्पष्ट प्रतिबद्धताको माग गरेको छ।

ADVERTISEMENT

यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी पक्ष र परिवारबीच शनिबार अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन। परिवारले शव नबुझेकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्न सकेको छैन।

वीर अस्पतालमा लामो समय शव राख्न आवश्यक पूर्वाधार पर्याप्त नभएकाले शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको शवगृहमा सारिएको छ।

ADVERTISEMENT

घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले नगर प्रहरीको भूमिका, ‘ह्विल लक’ लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मुगुको सोरु गाउँपालिका–६ का गणेश नेपाली भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका थिए।