काठमाडौँ – आज र भोलि देशका केही क्षेत्रमा आरीघोप्टे तथा मुसलधारे वर्षाको सम्भावना रहेकाले मौसमविद् र विपद् व्यवस्थापन निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा अति ठूलो वर्षा हुने सम्भावना छ। साथै, यी प्रदेशका पहाडी भागका थोरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका एक/दुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको छ।

विशेषगरी खोला, खोल्सा र नदी आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरिएको छ। यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

ADVERTISEMENT

प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकलाई उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्स्काभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वतयारी प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।

आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। साथै, जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न सबैलाई आग्रह गरिएको छ।