काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। कर्मचारीको आचरण, अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

मन्त्री प्रतिभा रावलको निर्णयबाट असार १६ गते स्वीकृत भएको आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनका लागि मन्त्रालयअन्तर्गतका सबै महाशाखा तथा निकायमा पठाइएको हो।

ADVERTISEMENT

नयाँ व्यवस्थाअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न पाउने छैनन्। यद्यपि, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।

ADVERTISEMENT

आचारसंहिताले फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा कायम राख्नुपर्ने व्यवस्था गरेको छ। सरकारको नीति तथा कार्यक्रमविपरीत हुने लेख, टिप्पणी वा सामग्री सामाजिक सञ्जालमा प्रकाशन गर्न पनि रोक लगाइएको छ।

मन्त्रालयले कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट, समान र निष्पक्ष व्यवहार गर्न, कुनै पनि प्रकारको पक्षपात वा भेदभाव नगर्न तथा कार्यस्थल बाहिर सेवाग्राहीसँग भेटघाट नगर्न निर्देशन दिएको छ। साथै, कर्मचारीले सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न तथा पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाउने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

त्यस्तै, कार्यालय समयको पूर्ण पालना, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने, कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान तथा जुवातास खेल्न नपाइने प्रावधान पनि आचारसंहितामा समेटिएको छ।

सरकारी कागजात, इमेल, पासवर्ड, सूचना प्रणाली र सरकारी सम्पत्तिको दुरुपयोग गर्न नपाइने व्यवस्था गर्दै मन्त्रालयले आचारसंहिता पालना भए–नभएको नियमित अनुगमन गरिने र उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

यस्तो छ आचारसंहिताको पूर्णपाठ :