काठमाडौं । रास्वपा सांसदले सरकारको कार्यशैलीलाई लिएर विरोध गर्न थालेका छन् । अहिलेसम्म संसदमा सरकारको कामबारे मौन रहेका रास्वपा सांसदहरूले अब भने विरोध गर्न थालेका हुन् ।
रास्वपा सांसद शम्भुप्रसाद ढकालले सरकारका सबै अंग जनताका लागि दुःख दिन परिचालित हुन् भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानसँग भेटघाट गर्दा आएको अनुभव सुनाए ।
तराईमा रासायनिक मल नभएको, सिँचाइका लागि मोटर चलाउन बत्ती नआएको, पंखा चलाउन नपाएको गुनासो आएको उनको भनाइ छ । उनले सम्बन्धित मन्त्रीहरूको जवाफ माग गरे । ‘के सरकारका सबै अंग जनताका लागि दुःख दिन परिचालित हुन् ? सरकारलाई यो कुरा थाहा छ कि छैन ? छैन भने ठिकै छ, थाहा होस्,’ उनले भने, ‘सम्बन्धित उर्जा, गृह, कृषिलगायत सबै मन्त्रालयले यसको समाधानसहितको जवाफ मन्त्रालयबाटै दिउन्, यो जनताको चाहना हो ।’
गाडीमा माछा, मौरी वा तरकारी लैजाँदा सडकमा ट्राफिकलाई खुसी बनाउनुपर्ने गुनासो आएको उनले बताए । मालपोत, नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको कामलाई तीन दिन लगाएर सास्ती दिने गरेको गुनासो आएको उनको भनाइ थियो ।








