काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको विभिन्न निकायका पदमा बहाल रहेको भए आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ ।
रेडक्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य र व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ को उपदफा ३ मा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक संगठन (भ्रातृ संगठनसमेत) को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन् भन्ने व्यवस्था गरेको छ ।
सोसाइटीद्वारा जारी अनुरोधमा विधानको व्यवस्थालाई आत्मसात् नगरी दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने उल्लेख छ ।
‘नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू कुनै राजनीतिक दलको .भ्रातृ संगठनसमेत) विभिन्न निकायका पदहरूमा रहेको थाहा भएमा तथ्यसहित इमेलमा जानकारी गराउनु हुन पनि सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्या जटिल बनेको अवस्था छ ।





