काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने प्रतिष्ठित ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।

योसँगै कामना सेवा विकास बैंकले लगातार तेस्रो वर्ष बीपीए अवार्डमा उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ। बैंकले बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड तथा २०२४ र २०२५ मा लगातार गोल्ड अवार्ड प्राप्त गरेको हो।

ADVERTISEMENT

बैंकका अनुसार यसको वार्षिक प्रतिवेदन दक्षिण एसियाको प्रतिष्ठित ‘साफा अवार्ड’बाट पनि लगातार सम्मानित हुँदै आएको छ। यसले बैंकले वित्तीय पारदर्शिता, संस्थागत सुशासन तथा गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राखेको पुष्टि गरेको जनाएको छ।

मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका थिए।

ADVERTISEMENT

आइक्यानले बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिको उच्चस्तरीय अभ्यासलाई मूल्यांकन गर्दै सम्मान प्रदान गरेको जनाएको छ।

बैंकले यस सम्मानले वित्तीय प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार अझ प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ। साथै आगामी दिनमा पनि गुणस्तरीय वित्तीय सूचना र उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।