काठमाडौं। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटिरहेको छ। मध्यपूर्वको तनाव केही कम भएसँगै तेल आपूर्तिमा सुधार आउने अपेक्षाले विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल करिब ७२–७३ अमेरिकी डलरमा झरेको छ, जुन इरान–अमेरिका द्वन्द्वअघि रहेको स्तर नजिक पुगेको हो।

विश्व बजारमा तेल सस्तो भइरहँदा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि तत्काल ठूलो मूल्य घट्ने सम्भावना भने कम देखिएको छ।

ADVERTISEMENT

नेपाल आयल निगमका अनुसार नेपालले प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारबाट होइन, भारतको इन्डियन आयल कर्पोरेशनबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्ने भएकाले कच्चा तेलको मूल्य घटेको प्रभाव तत्काल नेपाली बजारमा पर्दैन। भारतको इन्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्य प्रत्येक १५ दिनमा तथा एलपी ग्यासको मूल्य मासिक रूपमा पुनरावलोकन गर्ने भएकाले त्यसपछि मात्रै मूल्य समायोजनको सम्भावना रहने निगमको भनाइ छ।

यस्तै, विश्व बजारमा कच्चा तेल सस्तो भए पनि प्रशोधित इन्धनको उत्पादन लागत, रिफाइनरीको अवस्था, ढुवानी खर्च तथा आपूर्ति व्यवस्थाले मूल्य निर्धारणमा प्रभाव पार्ने भएकाले उपभोक्ताले अपेक्षा गरेजस्तो ठूलो राहत तत्काल नआउन सक्ने विश्लेषण गरिएको छ।

ADVERTISEMENT

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यमा केही समायोजन हुन सक्ने संकेत गरे पनि खाना पकाउने एलपी ग्यासमा भने तत्काल मूल्य घट्ने सम्भावना नरहेको जनाएको छ। निगमका अनुसार एलपी ग्यासमा अझै पनि घाटा कायम रहेकाले हाल लागू गरिएको आधा भरिएका सिलिन्डर वितरण व्यवस्था पनि यथावत रहनेछ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्दै गए र भारतबाट आउने नयाँ मूल्यसूची पनि सस्तो आएमा आगामी मूल्य समायोजनमा नेपाली उपभोक्ताले केही राहत पाउन सक्नेछन्।