काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ हुने भएको छ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गर्न लागेको कार्यक्रमले देशको मोटर उद्योगमा नयाँ उत्साह र नवप्रवर्तन ल्याउने अपेक्षा गरिएको नाडाको भनाइ छ ।

मंगलबार पत्रकार सम्मेलन गरी नाडाले यसपटकको शो ‘गो फर मोर’ भन्ने नारासाथ नवीनतम प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक समेट्दै ग्राहक र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एउटै छानामुनि ल्याउने जानकारी दिएको छ ।

नाडा अटो शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गर्नेछन् । शोमा युनिट्री रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक), दीपल ईभीटिओएल यूएभी (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक), १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारीसाधन ब्रान्डहरू, चारवटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिने नाडाले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था गरी ३५ कम्पनीहरूको स्टल, १२५ भन्दा बढी प्रदर्शकहरू हुनेछन् भने एक लाखभन्दा बढीले शोको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रमको टाइटल स्पोन्सर एमएडब्ल्यु वृद्धी र कोस्पोन्सर शिखर इन्स्योरेन्स तथा पावर्ड बाइ ‘क्याम्पा कोला’ रहेको छ । शोमा नेपाल ल्युब तेलले १२ भाग्यशाली विजेताहरुलाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा दिने नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले बताए ।

नाडा अटो शोमा प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो (मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडिज बेंज, टोयोटा आरटी४), भिएर बस, टोयोटा कोरोल्ला, माज्डा फेमिलिया, टोयोटा एमआर२० हुने छन् । मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, साथै ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तरक्रियाहरू रहेका छन् ।