काठमाडौँ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधका क्रोनिक कारोबारीलाई शुक्रबार बालकुमारीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल र पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा बालकुमारी पुलमुनि भारतको वासमतियाबाट ल्याइएको खैरो हेरोइन बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए। चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन आग्रह गर्दा पनि नरोकेपछि किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि अन्य दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका ओझैयालाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। हाल उनको उपचार भइरहेको छ।
पक्राउ परेकाहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार ओझैया यसअघि लागूऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरी २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेका थिए।






