काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा टर्की लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको विश्वकप यात्रा समूह चरणमै टुंगिएको हो।

ADVERTISEMENT

खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले गरेको गोल नै पाराग्वेको जितका लागि निर्णायक बन्यो। सुरुआती गोलपछि खेलभर टर्कीले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन।

पाराग्वेका फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। संख्यात्मक रूपमा कमजोर बनेको अवस्थाको फाइदा उठाउन नसक्दा टर्की हारबाट जोगिन सकेन।

ADVERTISEMENT

यसअघि पहिलो खेलमा टर्की अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो। लगातार दुई हारपछि टर्की समूह चरणबाटै बाहिरिएको हो।

पाराग्वेका लागि भने यो जित महत्वपूर्ण रह्यो। टोलीले पहिलो खेलमा विश्वकप सहआयोजक अमेरिकासँग ४–१ को हार बेहोरेको थियो। टर्कीविरुद्धको जितसँगै पाराग्वेले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ।