काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरसभामा बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्।
महानगरले आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरेको छ। यसमध्ये आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट ४ अर्ब ९३ करोड ६७ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जनसहभागिताबाट एक करोड रुपैयाँ स्रोत जुट्ने अपेक्षा गरिएको छ।
प्रस्तावित बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा अर्थात् ६१ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको छ। यसअन्तर्गत करिब १५ अर्ब ३१ करोड रुपैयाँ खर्च गरिनेछ। यस्तै सामाजिक विकासका लागि ९.६ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ८.५ प्रतिशत र प्रशासनिक खर्चका लागि १८.८ प्रतिशत बजेट छुट्याइएको छ।
महानगरले फोहोर व्यवस्थापन, विद्यालय शिक्षा सुधार, युवा स्वरोजगार कार्यक्रम, सार्वजनिक यातायात व्यवस्थापन, सम्पदा संरक्षण, निःशुल्क एम्बुलेन्स सेवा, वाटर एटीएम, सार्वजनिक शौचालय निर्माण तथा वातावरण संरक्षणका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।
राजस्व संकलन बढाउन करदातालाई प्रोत्साहन गर्ने तथा केही कर तथा शुल्कमा छुट दिने व्यवस्था पनि बजेटमा समावेश गरिएको छ। महानगरले प्रस्तुत बजेटले काठमाडौंलाई स्वच्छ, हरित, सुरक्षित र व्यवस्थित सहर बनाउने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






