धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आइतबार राति ११ः४५ बजे बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री धामीका अनुसार आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख रुपैयाँभन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ।
बजेटका अन्य स्रोतमा संघीय रोयल्टीबापत सात करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बचत रकमबाट नौ अर्ब ६२ करोड रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ३८ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
यद्यपि, बजेट प्रस्तुत गर्ने क्रममा चालु खर्च र पुँजीगत खर्चतर्फ कति रकम विनियोजन गरिएको छ भन्ने विवरण मन्त्री धामीले सार्वजनिक गरेनन्।
प्रतिपक्षी दलका सांसदहरूको बहिष्कारबीच बजेट प्रस्तुत गरिएको थियो। बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए। विरोधका क्रममा प्रदेशसभा सदस्य मानबहादुर धामीले सरकारले समयमै बजेट ल्याउन नसकेर लाचारी प्रदर्शन गरेको आरोप लगाए।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए। सत्ता साझेदार दलभित्रै बजेट बाँडफाँट र योजनाको प्राथमिकताका विषयमा मतभेद देखिएपछि बजेट प्रस्तुत गर्न ढिलाइ भएको बताइएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि बजेटको आकार बढाउँदै सरकारले विकास निर्माण, सेवा प्रवाह तथा प्रदेशको आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।








