काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

न्यूयोर्कस्थित न्यूजर्सी स्टेडियममा भएको खेलमा दुवै टोलीले पहिलो हाफमै गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। मोरक्कोले खेलको २१औँ मिनेटमा अग्रता लिएको थियो। मिडफिल्डर स्माइल साइबरीले दुई डिफेन्डरलाई छक्याउँदै गोलकिपर अगाडि बढेको अवस्थामा खाली पोस्टमा गोल गरेका थिए।

ADVERTISEMENT

ब्राजिलले ३२औँ मिनेटमा बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले बायाँतर्फबाट आएको क्रसलाई उत्कृष्ट फिनिस गर्दै टोलीलाई खेलमा फर्काएका थिए।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल गर्न सकेनन्। ७८औँ मिनेटमा राफिन्हाको प्रहार मोरक्कोका गोलकिपरले बचाएका थिए। अन्तिम मिनेटसम्म दुवै टोलीले प्रयास गरे पनि नतिजा परिवर्तन हुन सकेन।

ADVERTISEMENT

ब्राजिलका स्टार खेलाडी नेयमार चोटका कारण बेन्चमै सीमित रहे। फिफा वरियतामा ब्राजिल छैटौँ र मोरक्को सातौँ स्थानमा रहेका कारण खेल प्रतिस्पर्धात्मक बनेको थियो।

यसअघि समूह बीको खेलमा कतार र स्विट्जरल्यान्डले पनि १–१ गोलको बराबरी खेलेका थिए।