काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता कायम हुन नसके कांग्रेसको पुनरुत्थान कठिन हुने बताएका छन्। बिहीबार काठमाडौंस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनपछिको राजनीतिक अवस्थाले कांग्रेसलाई चुनौतीपूर्ण मोडमा पुर्याएको उल्लेख गरे।
महतका अनुसार कांग्रेस अहिले संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको छ भने परम्परागत जनाधार पनि कमजोर बनेको छ। त्यसमाथि नियमित १५औँ महाधिवेशनको पक्षमा रहेका नेता–कार्यकर्ता र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका पक्षबीच मनोवैज्ञानिक दूरी बढेकाले पार्टी थप कमजोर बन्ने जोखिम रहेको उनको भनाइ छ।
“अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। यदि यो एकता कायम भएन भने नेपाली जनताको सबैभन्दा भरोसायोग्य र लोकप्रिय शक्तिका रूपमा कांग्रेसलाई पुनःस्थापित गर्ने अभियान कमजोर बन्न सक्छ,” महतले भने।
उनले वर्तमान नेतृत्व, विशेषगरी विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले एकताका लागि गम्भीर पहल गर्नुपर्ने बताए। नेतृत्व तहबाट आवश्यक पहल नहुँदा कार्यकर्तामा निराशा बढेको, कतिपयले पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बनेको उनको दाबी थियो।
महतले १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्वयुक्त बनाउन साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरे। उनका अनुसार उक्त संयन्त्रले महाधिवेशनको निर्वाचन प्रक्रिया, क्रियाशील सदस्यताको विवाद र विधान संशोधनका विषयमा सहमति जुटाउनुपर्नेछ।
“हामीले कुनै पदको माग गरेका छैनौँ। महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि साझा संयन्त्र बनाएर सबैलाई विश्वास दिलाउने वातावरण निर्माण गर्नुपर्छ,” उनले स्पष्ट पारे।
क्रियाशील सदस्यताको विषयमा बोल्दै महतले वर्षौँदेखि पार्टीमा सक्रिय रहेका सदस्यहरूलाई डिजिटल प्रक्रियाको नाममा बाहिर राख्न नहुने बताए। सदस्यताको विवरण अद्यावधिक र डिजिटल बनाउने जिम्मेवारी केन्द्रको भएको उल्लेख गर्दै उनले तल्लो तहलाई दोष दिन नमिल्ने धारणा राखे।
महतले वर्तमान नेतृत्वलाई तत्काल गम्भीर संवादमा बस्न आग्रह गर्दै फाट्टफुट्ट भेटघाटभन्दा औपचारिक र सार्थक छलफलमार्फत साझा निष्कर्षमा पुग्नुपर्ने बताए। पार्टी एकता नचाहेको भन्ने आरोप असत्य भएको उल्लेख गर्दै उनले आफूहरू केवल निष्पक्ष र न्यायोचित प्रक्रियाको पक्षमा रहेको स्पष्ट गरे।
उनले कांग्रेसभित्रको अन्योल, अविश्वास र विभाजन अन्त्य गरेर मात्रै जनतामाझ पार्टीको गुमेको विश्वास पुनःस्थापित गर्न सकिने निष्कर्ष समेत व्यक्त गरे।








