काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रालयको आधार बलियो बनाएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने लक्ष्य रहेको बताएका हुन्।
मन्त्री पुनले द्रुत गतिमा काम नगरे लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्रालयलाई प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ मन्त्रालय भएकाले यसको संस्थागत आधार निर्माणलाई प्राथमिकतामा राख्ने बताए।
“रातदिन काम गरेर मन्त्रालयको बलियो जग बसाल्ने हो। त्यसपछि सक्षम युवा पुस्तालाई जिम्मेवारी सुम्पेर बाहिरिने योजना छ,” उनले भने।
पुनले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई राष्ट्रिय विकासको मुख्य आधार बनाउने लक्ष्यका साथ काम गर्ने पनि स्पष्ट पारे। उनले मन्त्रालयको संरचना सुदृढ गर्दै अनुसन्धान, नवप्रवर्तन र प्रविधिमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिने बताए।








