काठमाडौं । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौंको बबरमहलस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकले इन्द्रप्रस्थ अपोलो हस्पिटलका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
भर्ना भएका बिरामीले औषधि तथा उपभोग्य सामग्रीबाहेकका अस्पताल सेवामा १० प्रतिशत छुट पाउनेछन् भने भर्ना नभई उपचार गराउने बिरामीले औषधि र परामर्श शुल्कबाहेक अन्य सेवा शुल्कमा समान छुट सुविधा प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन्।
यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहने जनाइएको छ।
प्रभु बैंकले हाल देशभर ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित गुणस्तरीय सेवा विस्तार गर्दै आएको जनाएको छ।








